शुभ दीपावली · तिहारको हार्दिक शुभकामना — जानकी टेलिभिजन

दसैँको टीकामा घर पुग्ने योजनासहित असोज २९ देखि सुरुङ खन्दै थिए कैदी

दसैँको टीकामा घर पुग्ने योजनासहित असोज २९ देखि सुरुङ खन्दै थिए कैदी

डोल्पा कारागारका कैदीहरू बडादसैँको टीकामा घर पुग्ने योजनासहित असोज २९ गतेदेखि सुरुङ खनेर फरार भएका थिए।
पूरा फोटो हेर्नुहोस्

डोल्पा कारागारबाट सुरुङ खनेर फरार भएका आठजना कैदीबन्दीमध्ये प्रहरीले अहिलेसम्म ६ जनालाई पक्राउ गरिसकेको छ  । पक्राउ पर्नेमा दुई जनालाई जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम र चारजनालाई जिल्ला प्रहरी कार्यालय डोल्पाले नियन्त्रणमा लिएको हो । दुईजना अझै फरार छन् ।

कार्तिक १४ गते बिहान ६ बजे सुरुङ खनेर कारागारबाट फरार भएका उनीहरूले असोज २९ गतेदेखि नै भाग्ने योजना बनाएको खुलेको छ । दसैँको टीकाका दिन घर पुग्ने गरी उनीहरूले योजना बनाएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय डोल्पाका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विनय सिंहले बाह्रखरीलाई जानकारी दिए ।

सूचना अधिकारी सिंहका अनुसार उनीहरूले कालीप्रसाद रोकायको नेतृत्वमा भाग्ने योजना बनाएको खुलेको छ । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका रोकायलाई आठ वर्ष कैद सजाय तोकिएको थियो । उनको दुई वर्ष कैद भुक्तान गर्न बाँकी थियो ।

कारागारभित्र दिउँसो ३ बजेपछि भलिबल खेल्ने गरिएको र त्यही समयमा आवाज नआउने गरी सुरुङ खन्ने गरेको उनीहरूले बयानका क्रममा बताएका छन् ।