अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती
अमेरिकामा आज मध्यावधि चुनाव, ट्रम्पलाई दुवै सदनमा बहुमत जोगाउने चुनौती

मेरिकामा आज मध्यावधि (मिडटर्म) चुनावका लागि मतदान हुँदै छ । मतदानको समय राज्यअनुसार फरक हुनेछ ।
यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि प्रतिस्पर्धा हुँदै छ ।
राष्ट्रपतीय निर्वाचनको दुई वर्षपछि हुने मध्यावधि चुनावमा संसद्का सदस्यसँगै केही राज्यका गभर्नर पनि चुनिन्छन् । हाल राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको दुवै सदनमा बहुमत छ । तर, कुनै एक सदनमा मात्रै बहुमत गुमाए पनि ट्रम्पलाई आफ्ना नीतिअनुसारका विधेयक पारित गराउन कठिन हुनेछ ।
अमेरिकी संसद्मा बहुमतको गणित
अमेरिकी संसद्का दुई सदनमा बहुमतका लागि आवश्यक सिट संख्या फरक छ । सिनेटमा कुल १०० सिट छन् । हाल रिपब्लिकन पार्टीसँग ५३ र डेमोक्रेटिक पार्टीसँग ४५ सिट छन् । दुईजना स्वतन्त्र सिनेटरले डेमोक्रेटसँग सहकार्य गर्दै आएका छन् ।
सामान्य अवस्थामा बहुमतका लागि ५१ मत आवश्यक पर्छ । तर, दुवै दलसँग ५०–५० सिट भए उपराष्ट्रपति जेडी भान्सले निर्णायक मत दिन सक्छन् ।
यसपटक सिनेटका ३५ सिटमा निर्वाचन हुँदै छ । तीमध्ये २२ सिट रिपब्लिकन र १३ सिट डेमोक्रेटिक पार्टीको नियन्त्रणमा छन् । सिनेटमा बहुमत हासिल गर्न डेमोक्रेटहरूले कम्तीमा चार सिटको खुद लाभ लिनुपर्नेछ । हाउस अफ रिप्रिजेन्टेटिभ्समा कुल ४३५ सिट छन् । बहुमतका लागि कम्तीमा २१८ सिट आवश्यक पर्छ । यसपटक सबै ४३५ सिटमा निर्वाचन हुँदै छ । २१८ वा सोभन्दा बढी सिट जित्ने दलले तल्लो सदनमा बहुमत कायम गर्नेछ ।
रिपब्लिकन पार्टीको लक्ष्य दुवै सदनमा आफ्नो बहुमत जोगाउनु हुनेछ । डेमोक्रेटहरू दुवै सदनमा बहुमत हासिल गर्ने प्रयासमा छन् ।
