बाढी र उद्धारबारे सेनाको ब्रिफिङ : विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक

बाढी र उद्धारबारे सेनाको ब्रिफिङ : विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक

बाढी र उद्धारबारे सेनाको ब्रिफिङ : विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक
पूरा फोटो हेर्नुहोस्

नेपाली सेनाले विपद् व्यवस्थापनमा दोहोरो कमाण्ड बाधक बनेको बताएको छ । शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको संसदीय विशेष समितिमा ब्रिफिङ गर्दै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले विपद् व्यवस्थापनमा विभिन्न सरकारी निकायबीच क्षेत्राधिकारको दोहोरोपन देखिँदा समन्वयमा चुनौती थपिएको बताएका हुन् । उनले छरितो र एकल ‘चेन अफ कमान्ड’ आवश्यक रहेको औँल्याए । 

गोरखाको उत्तरी भेगस्थित सिरिंगे हिमालमा खसेको हिमपहिरोको गेग्रानले बूढीगण्डकीको सहायक नदी स्यार खोला करिब दुई घण्टा थुनिएपछि भीषण बाढी निम्तिएको थियो । बिहान ४ः२० बजे थुनिएको नदी ६ः१५ बजे खुलेपछि बाढी आरूघाट, धादिङको बेनीघाट र मुग्लिन हुँदै करिब आठ घण्टामा चितवनसम्म पुगेको थियो । 

बाढीले निर्माणाधीन ३४१ मेगावाटको बूढीगण्डकी जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको थियो । साथै, तीनवटा पक्की मोटरेबल र तीनवटा झोलुंगे गरी कुल ६ वटा पुल बगाएको उनले जानकारी दिए । 

घटनामा ६ जना सम्पर्कविहीन भएका छन् भने ९१.५ किलोमिटर सडक सञ्जाल अवरुद्ध भएको थियो । 

नेपाली सेनाले नदी थुनिएको सूचना पाउनासाथ बिहान ६ः३६ बजे नै हवाई रेकी टोली परिचालन गरेको थियो । ७ः५२ बजे गोरखा पुगेर खोज तथा उद्धार कार्य सुरु गरेको जनाएको छ । 

६ दिनसम्म सञ्चालित उक्त अपरेसनका क्रममा हवाई र जमिन दुवै मार्गबाट एक हजार २५ जनाको उद्धार गरिएको थियो । १३ हजार ९३० किलोग्राम राहत सामग्री ढुवानी गरिएको सहायक रथी थापाले जानकारी दिए ।