भारतीय बजारमा भीषण आगलागी, नेपाली दमकल टोलीले नियन्त्रणमा लियो आगो
भारतीय बजारमा भीषण आगलागी, नेपाली दमकल टोलीले नियन्त्रणमा लियो आगो

भारतको उत्तर प्रदेशस्थित खिरी जिल्लाको वनगाउँ बजारमा भएको भीषण आगलागी नियन्त्रणमा नेपालबाट पुगेको दमकल टोलीले सहयोग गरेको छ । सीमावर्ती भारतीय बजारमा आगलागी भएपछि धनगढी उपमहानगरपालिकाको दमकल, नगर प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
लक्ष्मीपूजाका निम्ति बालिएका झिलिमिली बत्तीबाट विद्युत सर्ट भएर आगलागी भएको भारतको पलियाका स्थानीय पत्रकार शिशिर शुक्लाले जानकारी दिएका छन् । आगलागीबाट वनगाउँ बजारका करिब ६० पसल जलेर नष्ट भएको उनले बताए ।
नेपाली उपभोक्तालक्षित सञ्चालन गरिँदै आएको सीमावर्ती बजार हो त्यो । बजारबाट भारतको पलिया करिब ४० किलोमिटर टाढा पर्छ । भारतीय दमकल टोली घटनास्थल पुग्न समय लाग्ने भएकाले त्यहाँका स्थानीयले धनगढी उपमहानगरसँग सहयोग मागेका थिए ।
बेलुका करिब ६ः३० बजे आगलागीको सूचना पाएपछि धनगढी उपमहानगरपालिकाले तत्काल दमकलसहितको टोली परिचालन गरेको थियो । नगर प्रहरी, तीन दमकल र एउटा ब्याकुलोडरसहितको टोली बेलुका ७ बजे घटनास्थल पुगेको थियो ।
तीन दमकलमा तीन/तीनपटक पानी भरेर आगो निभाउने कार्य गरिएको थियो । । आगलागी थप फैलन नदिन ब्याकुलोडरको प्रयोग गरी फायर लाइन समेत बनाइएको थियो ।
नेपाली सुरक्षाकर्मी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिए ।
लखिमपुर खिरी पलियाका भाजपा नेता रवि गुप्ताले मेयर हमाललाई आगलागीबारे जानकारी गराएका थिए । गुप्ताको जानकारीपछि धनगढीबाट दमकल टोली परिचालन गरिएको हो ।
राति करिब १२ः३० बजे आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइएपछि धनगढीबाट गएको दमकल टोली उपमहानगरपालिका कार्यालय फर्किएको मेयर हमालले जानकारी दिए ।
