छठ पर्वका चारै दिन राष्ट्रिय सार्वजनिक बिदा घोषणा गर्न तराई मधेश कानून विद्यार्थी समाजको माग
छठ पर्वका चारै दिन राष्ट्रिय सार्वजनिक बिदा घोषणा गर्न तराई मधेश कानून विद्यार्थी समाजको माग

तराई मधेश कानून विद्यार्थी समाजले छठ पर्वका चारै दिन राष्ट्रिय सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारसँग माग गरेको छ।
समाजले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गर्दै बुझाएको पत्रमार्फत छठ पर्वको धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वलाई मध्यनजर गर्दै चारै दिन सार्वजनिक बिदा दिन माग गरेको हो।
समाजका अनुसार छठ पर्व केवल धार्मिक अनुष्ठान मात्र नभई नेपालको मौलिक सांस्कृतिक विविधता, धार्मिक सहिष्णुता, सामुदायिक एकता र सामाजिक सद्भावको प्रतीकसमेत हो।
छठ पर्वअन्तर्गत नहाय–खाय, खरना, सन्ध्या अर्घ्य र बिहानी अर्घ्य गरी चार दिनसम्म विभिन्न धार्मिक तथा सांस्कृतिक विधिहरू सम्पन्न हुने भएकाले सीमित सार्वजनिक बिदाले व्रतालु, श्रमिक, कर्मचारी तथा सर्वसाधारणलाई पर्व मनाउन कठिनाइ हुने समाजको भनाइ छ।
समाजले नेपालको संविधानले सुनिश्चित गरेको धार्मिक स्वतन्त्रता, समानता र सांस्कृतिक अधिकारको सम्मान गर्दै छठ पर्वका चारै दिन राष्ट्रिय सार्वजनिक बिदा घोषणा गर्न सरकारसँग आग्रह गरेको छ।
समाजका अध्यक्ष रामकिशोर ठाकुर र सचिव सुजित कुमार पण्डितद्वारा हस्ताक्षरित उक्त मागपत्रमा छठ पर्वलाई राष्ट्रिय सांस्कृतिक पहिचानका रूपमा सम्मान गर्दै सरकारले सकारात्मक निर्णय लिनुपर्ने उल्लेख गरिएको छ।

