लोकतन्त्रमाथि प्रहार भए कांग्रेस चुप बस्दैन : पौडेल
लोकतन्त्रमाथि प्रहार भए कांग्रेस चुप बस्दैन : पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफूहरूले सरकारलाई असहयोग गर्न नखोजेको बताएका छन् ।
पार्टीको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको विवरण अद्यावधिकका लागि निर्वाचन आयोग पुगेका पौडेलले सरकारले गलत काम गरे प्रतिपक्षले प्रश्न उठाउने बताए ।
“निर्वाचित सरकारलाई असहयोग गर्न खोजेका पनि छैनौँ । सरकार पाँच वर्ष चलोस् । सरकारले राम्रा काम गर्यो भने हामी त्यसलाई समर्थन गर्छौं," पौडेलले भने, "तर, सरकार बिचौलियाहरूसँग जोडिन्छ र विभिन्न खाले विषय बाहिर आउँछन् भने त्यसको छानबिन गर्नुपर्छ भनेर प्रतिपक्षले भन्न नमिल्ने ?”
सरकारसँग सम्बन्धित पछिल्ला प्रकरणहरूको निष्पक्ष र गहिरो छानबिन हुनुपर्ने पौडेलको माग छ । बाहिर आएका सबै विषय सत्य नै हुन् भन्ने कांग्रेसको दाबी नरहे पनि सत्यतथ्य पत्ता लगाउन छानबिन आवश्यक रहेको बताए ।
“बाहिर आएका सबै विषय सत्य हुन् भन्ने हाम्रो भनाइ होइन । ती सत्य हुन् वा होइनन् भन्नेबारे छानबिन त गर्नुपर्यो । गहिराइमा पुगेर छानबिन गर्नुपर्यो," उनले भने, "हिजोका विषय पनि आएका थिए, आजका विषय पनि आएका छन् । हिजोका विषय छानबिन गर्यौँ, आजका विषय पनि छानबिन गरौँ ।”
