लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ

लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ

लुम्बिनी बचाऊ महाअभियानका संयोजक खानसहित दुईजना पक्राउ
पूरा फोटो हेर्नुहोस्

लुम्बिनी बचाऊ महाअभियानका संयोजक अकराम खानसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्माको नियुक्तिको विरोध गर्दै आएको महाअभियानका संयोजक खानलाई प्रहरीले सोमबार (कात्तिक ९) राति नियन्त्रणमा लिएको हो ।

सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा दुईजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–६ स्थित सार्वजनिक स्थानमा उच्छृंखल गतिविधि गरी सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएकामा लुम्बिनी सांस्कृतिक नगरपालिका–६ का ६१ वर्षीय खान र वडा नम्बर–९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमान छन् । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, महाअभियानका सहसंयोजक रामविकास चौधरीले खानलाई मध्यरातमा घरमा सुतिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएका छन् । आनी छोइङ लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएदेखि नै महाअभियानले विरोधस्वरूप चरणबद्ध आन्दोलन गर्दै आएको छ ।