शुभ छठ · छठ पर्वको हार्दिक शुभकामना — जानकी टेलिभिजन

मकवानपुरमा यात्रुवाहक माइक्रोबस दुर्घटना, १० जना गम्भीर घाइते

काठमाडौंबाट सर्लाही जाँदै गरेको यात्रुवाहक माइक्रोबस मकवानपुरको भीमफेदीमा दुर्घटना हुँदा कम्तीमा १० जना गम्भीर घाइते भएका छन्। करिब ५०० मिटर तल खसेको गाडीमा १३ देखि १४ जना यात्रु रहेको अनुमान गरिएको छ।

accident
पूरा फोटो हेर्नुहोस्

मकवानपुर, २६ कात्तिक: काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुवाहक माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीनजिक दुर्घटना हुँदा कम्तीमा १० जना गम्भीर घाइते भएका छन्।

प्रहरीका अनुसार बिहीबार बिहान करिब ५:४५ बजे काठमाडौं–कुलेखानी–भीमफेदी सडकखण्डमा माइक्रोबस दुर्घटनामा परेको हो। दुर्घटनापछि गाडी सडकबाट करिब ५०० मिटर तल खसेको बताइएको छ।

दुर्घटनामा परेको माइक्रोबसमा १३ देखि १४ जना यात्रु रहेको प्रारम्भिक अनुमान गरिएको छ। घटनास्थलमा उद्धार कार्य जारी रहँदा अन्य यात्रुको अवस्थाबारे खोजी भइरहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको छ। भीरमा गाडी खसेका कारण उद्धार कार्य कठिन भएको सुरक्षाकर्मीले बताएका छन्।

दुर्घटनामा परेको गाडीको नम्बर र दुर्घटनाको कारणबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।