परराष्ट्रमन्त्री खनालद्वारा टर्किएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन
परराष्ट्रमन्त्री खनालद्वारा टर्किएको आन्ताल्यामा नेपाल पेभिलियन उद्घाटन

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नु भएका परराष्ट्रमन्त्री शिशिर खनालले टर्किएको आन्ताल्यामा सोमबारबाट सुरू जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा नेपाल पेभिलियनको उद्घाटन गरेका छन् ।
नेपालको जलवायु महत्वाकांक्षा, जैविक विविधता संरक्षणका क्षेत्रमा हासिल गरेका उपलब्धि तथा समुदायस्तरमा सञ्चालन गरिएका अनुकूलनका प्रयासहरूलाई अन्तर्राष्ट्रिय समुदायमाझ प्रस्तुत गर्ने उद्देश्यले नेपाल पेभिलियन स्थापना गरिएको हो ।
पभेलियन उद्घाटन समारोहलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री खनालले संवेदनशील हिमाली पारिस्थितिक प्रणालीले सामना गरिरहेका जलवायुजन्य जोखिम र चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराए । उनले हिमाली क्षेत्रमा हिउँ, हिमनदी तथा जमेको पानीको प्रणाली (क्रायोस्फियर) मा देखिँदै गएका परिवर्तनका कारण उत्पन्न भइरहेका जोखिमप्रति चिन्ता व्यक्त गरे ।
हालै जलवायु परिवर्तनका कारण भएको विनाशकारी भोटेकोशी विपद्लाई ‘हिमालयन सुनामी’को संज्ञा दिँदै उनले नेपालजस्ता जलवायु परिवर्तनको अग्रपङ्क्तिमा रहेका मुलुकहरूले असमानुपातिक रूपमा ठूलो जोखिम र क्षति बेहोर्नुपरिरहेको उल्लेख गरे ।
