सुक्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध
सुक्खा पहिरोले पोखरा-बागलुङ सडक अवरुद्ध

कास्कीको अन्नपूर्ण गाउँपालिका-१, घट्टेखोलामा सुक्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा-बागलुङ सडकखण्ड अवरूद्ध बनेको छ ।
आइतबार खसेको पहिरो पन्छाएपछि सडक सुचारू गरिए पनि पुन: सोही स्थानमा आज अपराह्न पहिरो खस्दा यातायात सेवा प्रभावित भएको वडा प्रहरी कार्यालय, बगरका प्रहरी निरीक्षक रामप्रसाद सोपकोटाले जानकारी दिए ।
"पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहेको छ", उनले भने, "केहीबेरमा एकतर्फी यातायात सञ्चालनमा आउँछ, दुईतर्फी खुलाउन अझै समय लाग्ने देखिएको छ ।" सडक अवरुद्ध भएपछि दुवैतर्फ सवारीसाधन रोकिएका छन् ।
