स्वास्थ्य सचिव प्रदेशकै कर्मचारी नियुक्त गर्न माग

स्वास्थ्य सचिव प्रदेशकै कर्मचारी नियुक्त गर्न माग

स्वास्थ्य सचिव प्रदेशकै कर्मचारी नियुक्त गर्न माग
पूरा फोटो हेर्नुहोस्

वाग्मती प्रदेशको स्वास्थ्य सचिवमा प्रदेशमै कार्यरत कर्मचारीलाई नियुक्त गर्नुपर्ने माग कर्मचारीहरूले गरेका छन् ।

प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयको सचिवमा प्रदेशमै कार्यरत ११औँ तहका कर्मचारीलाई नियुक्त गर्न माग गर्दै स्वास्थ्य सेवाका कर्मचारीहरूले मुख्यमन्त्री किरण थापा मगरको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशमा स्वास्थ्य सेवाका ११औँ तहका ६ जना कर्मचारी कार्यरत रहे पनि संघीय सरकारबाट सचिव ल्याउने तयारी भएको भन्दै उनीहरूले प्रदेशकै कर्मचारीलाई जिम्मेवारी दिनुपर्ने माग गरेका हुन् । कर्मचारीहरूले मुख्यमन्त्री थापा मगरलाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रदेश निजामती सेवा ऐन, २०७९ र संघीयताको मर्मअनुसार प्रदेशमा उपलब्ध जनशक्तिबाटै सचिव नियुक्त गर्न आग्रह गरेका छन् ।

प्रदेशमा सचिवको जिम्मेवारी सम्हाल्न सक्ने तहका ६ जना कर्मचारी उपलब्ध हुँदाहुँदै संघबाट कर्मचारी ल्याउन खोजिनु प्रदेशको आफ्नै प्रशासनिक संरचना र कर्मचारीको वृत्तिविकासमाथि असर पार्ने उनीहरूको भनाइ छ ।

स्वास्थ्य सचिव डा. सुमित्रा गौतमको सरुवापछि मन्त्रालयको सचिव पद रिक्त छ ।