हाम्रो सदाशयतालाई सरकारले कमजोरी ठान्यो : भीष्मराज आङ्देम्बे
हाम्रो सदाशयतालाई सरकारले कमजोरी ठान्यो : भीष्मराज आङ्देम्बे

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले कांग्रेसले सरकारप्रति देखाएको सदाशयतालाई सरकारले कमजोरीका रूपमा लिएको बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा बोल्दै आङ्देम्बेले संसद्को मर्यादा, कानुनी शासन, पारदर्शिता र जवाफदेहिताजस्ता आधारभूत लोकतान्त्रिक मूल्यप्रति सरकार गम्भीर नदेखिएको टिप्पणी गरे ।
राज्यका निकायबाट पटक–पटक संसद्को मर्यादा र स्थापित विधि–प्रक्रियामाथि बेवास्ता हुने गरेको उनको भनाइ छ । सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उनले यस्ता विषयमा नेपाली कांग्रेस गम्भीर रहेको बताए ।
सरकारका पछिल्ला गतिविधिबारे छलफल गर्न छिट्टै प्रतिपक्षी दलहरूको बैठक बस्ने र त्यसपछि सरकारप्रतिको साझा धारणा सार्वजनिक गरिने उनले बताए । प्रतिपक्षी दलहरूबीच छलफल गरेर सरकारका कामकारबाहीबारे संस्थागत धारणा बनाउने तयारी रहेको उनको भनाइ छ ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यशैलीमाथि पनि नेता आङ्देम्बेले प्रश्न उठाए । राम्रा कामको जस पार्टीले लिने तर नराम्रा कामको जिम्मेवारी सरकारमाथि थोपर्ने प्रवृत्ति देखिएको भन्दै उनले सत्तारूढ दल गैरजिम्मेवार ढंगले प्रस्तुत भइरहेको टिप्पणी गरे ।
सरकारले संसद्को मर्यादा र लोकतान्त्रिक मूल्य–मान्यताको पालना गर्नुपर्नेमा जोड दिँदै उनले कांग्रेसले यस्ता विषयमा आफ्नो भूमिका प्रभावकारी बनाउने बताए ।
