कांग्रेस महामन्त्री पौडेलले भने– सरकार स्वेच्छाचारी भयो

कांग्रेस महामन्त्री पौडेलले भने– सरकार स्वेच्छाचारी भयो

कांग्रेस महामन्त्री पौडेलले भने– सरकार स्वेच्छाचारी भयो
पूरा फोटो हेर्नुहोस्

 नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकार स्वेच्छाचारी भएको बताएका छन् । कांग्रेस संसदीय दलको बैठकमा उनले सरकारले संविधान र कानुनको बेवास्ता गरेको बताए ।

कानुनी व्यवस्थालाई कमजोर बनाएर सरकारले सत्ताको दुरुपयोग गरेको उनको भनाइ थियो । ‘सरकार स्वेच्छाचारी भयो । संविधान र कानुनको बेवास्ता गरियो,’ सिंहदरबारमा जारी संसदीय दलको बैठकमा सहभागी स्रोतले महामन्त्रीको भनाइ उद्धृत गर्दै भने, ‘कानुनी व्यवस्थालाई कमजोर बनायो र सत्ताको दुरुपयोग गर्‍यो ।’

स्रोतका अनुसार महामन्त्री पौडेलले बैठकमा अन्य प्रतिपक्षी दलहरूसँग पनि सहकार्य गरेर अघि बढ्नु पर्ने धारणा राखेका छन् । उनले दललाई प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक आह्वानको माग गर्न पनि भनेका छन् ।

अदालतमा सेटिङ प्रकरणमा विचौलियासँग न्यायाधीश, सरकार प्रमुख र प्रहरी मुछिएको विषयको छानबिन गर्न उच्चस्तरीय संसदीय समिति गठन हुनुपर्ने महामन्त्री पौडेलको भनाइ थियो ।

‘सरकारले नै यसबारे निष्पक्ष छानबिन गर्नेमा विश्वास छैन,’ स्रोतका अनुसार महामन्त्रीले बैठकमा भने, ‘प्रतिपक्षी, संसद्, जनता र प्रेसमाथि सरकारले हेप्यो र ज्यादती बढ्यो । राज्यका संवैधानिक अंगहरूलाई कमजोर बनाइयो ।’

कांग्रेस संसदीय दलको बैठक जारी छ । महामन्त्री पौडेल भने धारणा राखेर बाहिरिसकेका छन् ।

प्रमुख सचेतक बासना थापाले बैठकमा समसामयिक राजनीतिक विषय, पत्रकारमाथि राज्यको बढ्दो ज्यादती, कर्मचारीमाथि सिर्जना गरिएको त्रासदी तथा संसदीय दल र पार्टीबीचको सम्बन्धलगायत विषयमा छलफल हुने बताएकी छन् ।