प्रचण्डले भने– दानबहादुर कार्कीमाथि अन्याय भयो
प्रचण्डले भने– दानबहादुर कार्कीमाथि अन्याय भयो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन् । शनिबार (कात्तिक २१) काठमाडौंमा पत्रकारसँग उनले कार्कीलाई पदबाट हटाएर सरकारले अन्याय गरेको भन्दै सर्वोच्चले न्याय दिने बताएका हुन् ।
“सर्वोच्चमा गएको छ । मलाई विश्वास छ, सर्वोच्चले आईजीपीमाथि जुन अन्याय भा’छ, न्याय गर्छ सर्वोच्चले भन्ने मेरो विश्वास छ । मलाई अन्याय भएकै लाग्छ,” उनले भने ।
आन्दोलनको तयारीका विषयमा पत्रकारको प्रश्नमा प्रचण्डले अहिले राष्ट्रिय जागरण अभियान चलिरहेको र त्यो सकिएपछि समीक्षा गरेर मात्र अगाडिको योजना बनाइने उल्लेख गरे ।
उनले नेकपा (एमाले)सँग मात्र नभई नेपाली कांग्रेस र संविधान, शान्तिका निम्ति अग्रसर सबैलाई एक ठाउँमा जोडेर अघि बढ्ने बताए । वर्तमान सरकार झिलिमिलीमा रमाएको उनले टिप्पणी गरे ।
