सरकारसँग कांग्रेसका पाँच असन्तुष्टि

सरकारसँग कांग्रेसका पाँच असन्तुष्टि

सरकारसँग कांग्रेसका पाँच असन्तुष्टि
पूरा फोटो हेर्नुहोस्

 नेपाली कांग्रेसले सरकारका काम–कारबाहीप्रति पाँचवटा असन्तुष्टि व्यक्त गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सरकारका काम–कारबाहीप्रति असन्तुष्टि जनाएका हुन् ।

थापाले सञ्चारगृहमा प्रहरी प्रवेश, पत्रकार पक्राउ, कर्मचारीमाथि धरपकड, छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरिएको तथा मुलुकको कमजोर आर्थिक अवस्थाबारे सरकारको आलोचना गरे ।

जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पाँच वर्ष सरकार सञ्चालन गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै सरकारले प्रतिपक्षी भूमिका र जिम्मेवारीलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

पत्रकार पक्राउको विरोध

कांग्रेस सभापति थापाले सञ्चारमाध्यममा प्रकाशित समाचारका विषयमा पत्रकार पक्राउ गरिएको घटनाको विरोध गरेका छन् । सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाले पञ्चायती शासनकालको झल्को दिएको उनको टिप्पणी छ ।

‘‘मिडिया हाउसहरूमा प्रहरी प्रवेशले पञ्चायती शासनकालको याद दिलाएको छ । विरोध भएपछि पत्रकारहरूलाई छोडिएको हो । विचित्रको विषय बाहिर आएको छ,’’ उनले भने ।

प्रहरीले घटनाबारे दुईपटक विज्ञप्ति जारी गरेको उल्लेख गर्दै थापाले दुवै विज्ञप्तिको व्यहोरा फरक रहेको बताए ।

सुरुमा सामान्य विषयमा प्रहरीले आफ्नो काम गरेको भनिए पनि राति जारी गरिएको दोस्रो विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को सचिवालयको दबाबका कारण पत्रकार पक्राउ परेको उल्लेख भएको उनको दाबी छ ।

रास्वपाकै निर्देशन पालनामा अटेर

रास्वपाले दिएको निर्देशनसमेत सरकारले कार्यान्वयन नगरेको आरोप थापाले लगाएका छन् । सञ्चारगृह परिसरमा गरिएको गाडी पार्किङ र आफ्नो घरअगाडि गाडी पार्किङ गरिएको प्रसंग उठाउँदै उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन् ।

"सञ्चारगृहका अगाडि गाडी पार्किङ गरियो । मेरो घरअगाडि पनि गाडी पार्किङ गरियो । रास्वपाले छानबिन गर्ने भनेको छ । तर, केही भएको छैन । रास्वपाले निर्देशन दिने, सरकारले फेरि गल्ती गर्ने काम गर्दै आएको छ । सरकारले त्यो विषयमा छानबिन गरेको छैन," उनले भने ।

रास्वपाले छानबिन गर्ने प्रतिबद्धता जनाए पनि सरकारले त्यसअनुसार काम नगरेको उनको भनाइ छ ।

खोइ छानबिन समितिका प्रतिवेदन ?

थापाले रास्वपा नेतृत्वको सरकारद्वारा गठित छानबिन समितिका प्रतिवेदन सार्वजनिक नगरेको आरोप लगाउँदै सरकारको पारदर्शितामाथि प्रश्न उठाएका हुन् ।

गृहमन्त्री सुधन गुरुङको स्रोत नखुलेको सम्पत्ति छानबिन गर्न गठित समिति, २०८३ वैशाख २ गते गठन भएको जेनजी आन्दोलनको प्रतिवेदन कार्यान्वयनसम्बन्धी समिति, सुनसरीको कप्तानगन्ज घटनाबारे साउनमा गठन भएको अध्ययन समिति, भदौ २४ को घटनासम्बन्धी उच्चस्तरीय छानबिन समितिका प्रतिवेदन सार्वजनिक भएका छैनन् । थापाले यिनै प्रतिवेदन सार्वजनिक नभएका प्रश्न उठाएका छन् ।

बिचौलियाको आरोप लागेका इनम सापकोटासँग जोडिएका विषयमा पनि थापाले छानबिनको निष्पक्षतामाथि आशंका व्यक्त गरेका छन् । रास्वपासँग आबद्ध व्यक्तिहरू सापकोटासँग जोडिएका विवरण सार्वजनिक भइरहेकाले सरकारले गर्ने छानबिन निष्पक्ष हुनेमा आशंका रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री सचिवालयद्वारा कर्मचारी पक्राऊमा आपत्ति

प्रधानमन्त्रीको सचिवालयले उच्च अधिकारीलाई नियन्त्रणमा लिँदै दबाब दिएको घटनाको विरोध गरेका छन् । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियासहित कर्मचारीमाथि भएको धरपकडप्रति उनले आपत्ति जनाएका हुन् ।

कर्मचारीबाट गल्ती भएमा कानुनी प्रक्रिया र स्थापित निकायमार्फत अनुसन्धान हुनुपर्ने उनको भनाइ छ ।

"एउटा कर्मचारीले नियमविपरीत काम गरेमा त्यसबारे अध्ययन तथा छानबिन गर्ने राष्ट्रिय सतर्कता केन्द्र छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ । ती निकायलाई छलेर हुकुमी शैली चलाउन मिल्दैन," उनले भने ।

राहदानी छपाइको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारी र परराष्ट्र मन्त्रालयका कर्मचारीलाई ८–९ घण्टासम्म प्रधानमन्त्री कार्यालयमा लगेर थुनिएको पनि उनले बताए ।

प्रहरी लगाउँदै निर्माण व्यवसायी तथा सचिवलाई नियन्त्रणमा लिइएको घटनाप्रति समेत थापाले आपत्ति जनाएका छन् ।

कानुनको शासनमा सरकारले पनि कानुनको पालना गर्नुपर्ने उल्लेख गर्दै उनले कानुनलाई हतियारका रूपमा प्रयोग गर्न नहुने बताए । उनले भने, "राज्यका आधिकारिक संयन्त्रलाई बाइपास गरेर कर्मचारीलाई आतंकित बनाउने शैली लोकतान्त्रिक हुन सक्दैन ।"

अर्थतन्त्र सुधारमा सरकारको ध्यान जाओस्

कांग्रेस सभापति थापाले मुलुकको अर्थतन्त्र लथालिंग अवस्थामा रहेको भन्दै सुधारमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् । रास्वपा नेतृत्वको सरकारले अर्थतन्त्र सुधारमा अपेक्षित काम गर्न नसकेको उनको टिप्पणी छ ।

‘‘अर्थतन्त्र लथालिंग भएको छ । यस्तो बेलामा सरकारको ध्यान यो विषयमा जाओस् । यसमा कांग्रेसले साथ दिन्छ,’’ उनले भने ।

जनताले रास्वपालाई पाँच वर्ष सरकार सञ्चालन गर्ने जिम्मेवारी दिएको उल्लेख गर्दै थापाले कांग्रेस प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको बताए । सरकारले कांग्रेसको प्रतिपक्षी भूमिकालाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

‘‘कांग्रेस पाँच वर्ष प्रतिपक्षमा छ । सरकारले यो कुरा बुझोस् र सम्मान गरोस् । लोकतन्त्रको सवालमा खबरदारी गर्ने काम हाम्रो हो । निगरानी गर्ने काम हाम्रो हो । सरकार स्वेच्छाचारी हुने र जवाफदेही नहुने कुरा हामीलाई स्वीकार्य छैन । डरबाट शासन गर्ने शैली स्वीकार्य छैन,’’ उनले भने ।