कमजोरी स्वीकार्दै जागरण अभियानमा होमियो नेकपा

कमजोरी स्वीकार्दै जागरण अभियानमा होमियो नेकपा

कमजोरी स्वीकार्दै जागरण अभियानमा होमियो नेकपा
पूरा फोटो हेर्नुहोस्

विगतमा भएका कमजोरी स्वीकार्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) दुई महिने राष्ट्रिय जागरण अभियानमा होमिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन आयोजना गर्दै अभियानको उद्घाटन गरिएको छ ।

नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डका अनुसार कमजोरी स्वीकार्दै नयाँ संकल्पसहित अगाडि बढ्न जनतामा जनताको कुरा सुन्न लागिएको हो ।

प्रचण्डले भनेका छन्, ‘हिजोका कमजोरी के रहे ? उपलब्धि के रहे ? त्यसको समीक्षा  हुनुपर्‍यो । त्यो समीक्षा अब नेताहरूले मात्रै गरेर पुग्दैन । जनताको तहमा गएर जनताको आलोचना जनताकै मुखबाट गाउँ–गाउँ टोल–टोलमा पुगेर त्यो सुन्नपर्‍यो । त्यसलाई आत्मसाथ गर्नुपर्‍यो ।’

यसका साथै, देशको अगाडि देखा परेका तमाम अप्ठ्याराहरूलाई पार गर्नका लागि नयाँ संकल्पसहित अगाडि बढ्न पर्यो भनेर अभियानको सुरुआत गरिएको उनले बताएका छन् ।

दुई महिने राष्ट्रिय जागरण अभियान उद्घाटनका क्रममा नेकपाले एक अपिल पनि जारी गरेको छ ।

उक्त अपिलमा पनि जनतासँगको सम्बन्ध कमजोर हुँदै गएको र पार्टीभित्र नेतामुखी तथा केन्द्रमुखी प्रवृत्ति बढेको स्वीकार गर्दै राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागिएको उल्लेख छ ।

‘आफ्ना विगतका कामहरुको इमानदारीपूर्वक समीक्षा गरी आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित हुँदै जनताको विश्वास र भरोसा अझ बलियो बनाउनु हाम्रो दायित्व हो,’ अपिलमा भनिएको छ ।

यसका साथै, पार्टी सरकारमा रहँदा सुशासन, सामाजिक न्याय, समृद्धि र सन्तुलित परराष्ट्र सम्बन्धका पक्षमा अघि बढाइएका कामलाई निरन्तरता दिँदै जनताप्रति थप उत्तरदायी बन्न आवश्यक छ भन्ने कुरामा जोड दिन चाहेको अपलमा उल्लेख छ ।