रुसी आक्रमणबाट युक्रेनको विद्युत् संरचनामा क्षति, लाखौँ मानिस प्रभावित

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार मंगलबार गरिएको आक्रमणमा २८९ ड्रोन, १७ वटा ब्यालिस्टिक क्षेप्यास्त्र र ५९ वटा क्रुज क्षेप्यास्त्र प्रयोग गरिएको थियो। आक्रमण दक्षिणी ओडेसादेखि पश्चिमी रिभ्नेसम्मका ऊर्जा केन्द्र तथा विद्युत् संरचनामा केन्द्रित रहेको उनले बताएका छन्।

सको आक्रमणपछि युक्रेनका ऊर्जा पूर्वाधारमा क्षति पुगेको छ।
पूरा फोटो हेर्नुहोस्

किभ: रुसले युक्रेनका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै ठूलो स्तरमा ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेपछि देशका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित भएको छ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका अनुसार मंगलबार गरिएको आक्रमणमा २८९ ड्रोन, १७ वटा ब्यालिस्टिक क्षेप्यास्त्र र ५९ वटा क्रुज क्षेप्यास्त्र प्रयोग गरिएको थियो। आक्रमण दक्षिणी ओडेसादेखि पश्चिमी रिभ्नेसम्मका ऊर्जा केन्द्र तथा विद्युत् संरचनामा केन्द्रित रहेको उनले बताएका छन्।

युक्रेनको सबैभन्दा ठूलो निजी ऊर्जा उत्पादन कम्पनी डीटीईकेका अनुसार उसका पाँचमध्ये तीन वटा तापीय विद्युत् उत्पादन केन्द्र सञ्चालनबाट बाहिरिएका छन्।

यसको प्रभाव राजधानी किभसहित कम्तीमा छ वटा क्षेत्रमा देखिएको छ। विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएपछि सर्वसाधारणको दैनिक जीवन, उद्योग तथा सार्वजनिक सेवामा असर परेको छ।

आक्रमणबाट रेल सेवासम्बन्धी संरचनामा समेत क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन्। रेलका डब्बा, इन्जिन तथा एउटा रेल स्टेसन प्रभावित भएको जानकारी सार्वजनिक गरिएको छ।

रुसले भने आफ्ना आक्रमण युक्रेनी सेनालाई सहयोग पुर्‍याउने विद्युत् संरचना तथा सैन्य उद्योगसँग सम्बन्धित केन्द्रमा लक्षित रहेको दाबी गरेको छ।

यसैबीच, रुसको यारोस्लाभल क्षेत्रमा रहेको एक ठूलो तेल प्रशोधन केन्द्रमा युक्रेनी ड्रोन आक्रमणपछि आगलागी भएको रुसी अधिकारीहरूले बताएका छन्।

युक्रेनमा जाडो मौसम नजिकिँदै गर्दा ऊर्जा पूर्वाधारमा भएका पछिल्ला आक्रमणले विद्युत् तथा ताप आपूर्तिको चिन्ता थप बढाएको छ।

युद्धका कारण दुवै देशका ऊर्जा संरचना पटकपटक निशानामा पर्दै आएका छन्। पछिल्लो घटनाले नागरिकको दैनिक जीवन र आवश्यक सेवामा युद्धको प्रत्यक्ष प्रभाव पुनः देखाएको छ।